काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतलनिवासमा बिहीबार राति ढिलासम्म चलेको राजनीतिक छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा सहमति भइरहेको छ।
स्रोतका अनुसार राष्ट्रपति पौडेल, सभामुख देवराज घिमिरे, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की, कानुन व्यवसायी र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच भएको छलफलमा अन्तरिम सरकारको नेतृत्व कार्कीले गर्ने निष्कर्ष निकालिएको हो। तर, संसद विघटन गर्ने वा नगर्ने भन्ने विषयमा भने अझै मतभेद रहेको जनाइएको छ।
छलफलमा सहभागी एक अधिकारीका अनुसार, संसद विघटनबारे सभामुखले असहमति जनाए पनि जेनजीका प्रतिनिधिले संसद विघटन नगरेसम्म आन्दोलन जारी राख्ने अडान राखेका छन्।
यसअघि राष्ट्रपति पौडेलले एमाले, कांग्रेस, माओवादीका शीर्ष नेताहरूसँग पनि छुट्टाछुट्टै छलफल गरी जेनजी आन्दोलनका माग सम्बोधन गर्ने तयारीबारे परामर्श लिएका थिए। संविधानविद भीमार्जुन आचार्य, विपीन अधिकारी, पूर्णमान शाक्य, चन्द्रकान्त ज्ञवालीलगायतले पनि शीतलनिवासमा पुगेर राष्ट्रपतिलाई आन्दोलनकारी युवाहरूको भावनाको कदर गर्दै दलबाहिरको स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउन सुझाव दिएका थिए।
शीतलनिवास परिसरमा उच्च सतर्कता अपनाइएको छ। सेना मुख्यालय भद्रकाली, सिंहदरबार, नारायणहिटी, निर्मल निवास लगायतका स्थानमा सेनाको बाक्लो उपस्थिति छ भने राजधानीबाहिरका ब्यारेकहरूलाई पनि हाई अलर्टमा राखिएको छ। बिहीबार साँझ ७ बजेदेखि कर्फ्यू जारी छ र सर्वसाधारणलाई घर फर्कन आग्रह गरिएको छ।
यदि अन्तिम सहमति कायम भएमा शुक्रबार बिहानै सुशीला कार्कीले प्रधानमन्त्रीको सपथ लिने तयारी भइरहेको स्रोतले जनाएको छ। कार्की प्रधानमन्त्री बनेमा उनी नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्नेछिन्।