आजको पत्रकारिता एकल प्रयासको होइन, साझा सहकार्य र समन्वयको यात्रामा रूपान्तरण हुँदै गएको छ। ‘मिलिजुली पत्रकारिता’ वा सहकार्यमा आधारित पत्रकारिता भन्नाले विभिन्न सञ्चारमाध्यम, पत्रकार, अनुसन्धानकर्ता, विश्लेषकहरूबीच हुने समाचार आदान–प्रदान, स्रोतको साझेदारी र संयुक्त अनुसन्धानलाई बुझिन्छ। पछिल्ला दशकमा विशेष गरी अनुसन्धानात्मक पत्रकारिता र डिजिटल मिडिया प्लेटफर्महरूको विकाससँगै मिलिजुली पत्रकारिता मौलाउँदै गएको छ।
तर, प्रश्न उठ्छ — के मिलिजुली पत्रकारिता वास्तवमै राम्रो हो? यसले पत्रकारिताको गुणस्तर र विश्वसनीयतालाई अगाडि बढाउँछ कि कहीँ न कहीँ स्वार्थ, सम्झौता र आस्थाको कमजोर बिन्दु बन्दिन्छ?
“मिलीजुली पत्रकारिताको श्रेय कसलाई दिने अब को सोच्नै पर्ने विषय”
मिलिजुली पत्रकारिताको मुख्य बलियो पक्ष भनेको स्रोतको साझा प्रयोग र समाचारको गहिरो अनुसन्धान हो। उदाहरणका लागि, पछिल्लो समय विभिन्न अनलाइन मिडिया र अनुसन्धानात्मक प्लेटफर्महरूले सहकार्य गर्दै सम्वेदनशील विषयमा रिपोर्टिङ गर्न थालेका छन्। यसले समाचारको गहिराइ बढाएको छ र एउटै विषयलाई फरक कोणबाट हेर्ने अवसर दिएको छ।
त्यस्तै, आर्थिक स्रोत सीमित भएका साना मिडियाका लागि मिलिजुली पत्रकारिता वरदान सावित भएको छ। स्रोत र सूचना साझा गर्दा लागत कम हुन्छ, पत्रकारको दक्षता बढ्छ र सन्देशको प्रभाव विस्तार हुन्छ।
“समय परिवर्तन सँगै हरेक क्षेत्रमा परिवर्तन आवश्यक छ, पत्रकारितामा पनि मिलिजुली पत्रकारिता आवश्यकताकै विम्ब बन्न जान्छ ।”
यो सहकार्यको अभ्यासले पत्रकारहरूबीच आपसी समझदारी, विश्वास र पेशागत सम्मान पनि विकास गर्छ। प्रतिस्पर्धा मात्र होइन, सहकार्य पनि पत्रकारिताको अनिवार्य तत्व हुन सक्छ भन्ने कुराको पुष्टि मिलिजुली पत्रकारिताले गरेको छ ।
तर, यति भन्दैमा यसको आलोचना नगरेर बस्न सकिँदैन। सबैखाले मिलिजुली पत्रकारिता सधैं सकारात्मक असर ल्याउँछ भन्ने छैन।
सहकार्यका नाममा कतिपय सञ्चारमाध्यमहरू ‘सिन्डिकेट पत्रकारिता’तर्फ उन्मुख हुँदै छन्, जहाँ केही गुट वा समूहले समाचारको धारणा बनाउने र प्रसारण गर्ने अधिकार मात्र आफूमा सीमित गर्न खोज्छन्। यस्तो अभ्यासले विविधता होइन, एकरूपता जन्माउँछ।
“मिलिजुली पत्रकारिताको लाभ लिन सबै अघि सर्दा हानी कस्ले बेहोर्ने “
त्यस्तै, कुनै संस्थागत स्वार्थ, राजनीतिक आस्थाजन्य समूह वा लगानीकर्ताको दबाबमा सहकार्य गरिएमा पत्रकारिताको निष्पक्षता धरापमा पर्न सक्छ। एउटै विचार वा उद्देश्य बोकेका मिडियाहरूबीचको सहकार्यले सूचना विविधता गुमाउने डर हुन्छ।
मिलिजुली पत्रकारिता गर्दा कहिलेकाहीँ मूल लेखक वा रिपोर्टरको श्रेय छुट्ने, स्रोत खुलाउने जिम्मेवारी अन्योल हुने, वा सामग्री चोरीको खतरा पनि एउटा पाटो हुन् जान्छ।
स्रोत साझा गर्नु सधैं सुरक्षित हुँदैन — संवेदनशील सूचना लिक हुने सम्भावना, स्रोतको गोपनीयता भंग हुने खतरा, र कानुनी जोखिम समेत हुन जान्छ।
दीर्घकालीन रुपमा हेर्दा मिलिजुली पत्रकारिता संस्थागत पत्रकारिताको गुणस्तर वृद्धिको दिशामा सहयोगी हुन सक्छ, यदि यसलाई निष्पक्षता, पारदर्शिता र पेसागत आचारसंहिताभित्र राखेर अघि बढाइयो भने।
“साझा प्रयासले मात्रै सफल हुन्छ, त्यसैले सबैको भूमिका समान हुन जान्छ।”
नेपाल जस्तो सानो र स्रोत सिमित देशमा मिलिजुली पत्रकारिता विकासको एउटा सशक्त आधार बन्न सक्छ। तर यो अभ्यासमा खुलेआम छलफल, साझा आचारसंहिता र स्पष्ट सहमति आवश्यक छ। सहकार्यको नाममा समाचारको मौलिकता र निष्पक्षता गुमाउनु हुँदैन ।
मिलिजुली पत्रकारिताले कुन उद्देश्यका लागि, कसरी, र कोसँग सहकार्य गरिँदैछ भन्ने कुरामा निर्भर गर्दछ । सहकार्य पारदर्शी, निष्पक्ष र पेशागत हुने हो भने मिलिजुली पत्रकारिता निश्चय पनि राम्रो अभ्यास हो। तर गुटबन्दी, दबाब, वा स्वार्थका लागि गरिने सहकार्य पत्रकारिताको आत्मा नै मर्न सक्छ।
आजको पत्रकारिता सहकार्यमा आधारित बन्नु स्वाभाविक छ, तर त्यो सहकार्य विवेकशील, उत्तरदायी र सुदृढ मान्यतामा आधारित हुनु पनि आजको मूलभुत आवश्यकता हो ।